सबै बन्धकहरूलाई मुक्त गर्न इजरायलले वार्ता सुरु गर्छ : नेतन्याहू

सबै बन्धकहरूलाई मुक्त गर्न इजरायलले वार्ता सुरु गर्छ : नेतन्याहू



काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बाँकी रहेका सबै बन्धकहरूलाई मुक्त गर्न र गाजामा युद्ध समाप्त गर्न इजरायललाई स्वीकार्य सर्तहरूमा वार्ता सुरु गर्न निर्देशन दिएका छन् ।

नेतन्याहूले बिहीबार राति इजरायली सेनालाई सम्बोधन गर्दै मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय र आन्तरिक विरोधका बाबजुद गाजाको उत्तरी भागमा रहेको गाजा सिटीमा ठूलो हमला गर्ने योजनालाई अनुमोदन गरेको जानकारी दिए ।

यसअघि, हमासले कतारी र इजिप्टियन मध्यस्थकर्ताहरूद्वारा तयार पारिएको ६० दिने युद्धविराम प्रस्तावलाई स्वीकार गरेको थियो । कतारले बताएअनुसार उक्त प्रस्तावमा गाजामा बाँकी रहेका बन्धकहरूमध्ये आधालाई मुक्त गर्ने विषय उल्लेख थियो ।

तर, नेतन्याहूले पहिलोपटक यस प्रस्तावमाथि प्रतिक्रिया दिँदै हालको सम्झौता स्वीकार नगरेको बताए । इजरायली मिडियाले एक अधिकारीलाई उदृत गर्दै वार्ताको स्थान तय भएपछि वार्ताकारहरू पठाइने जनाएको छ ।

बिहीबार राति गाजा डिभिजनको मुख्यालय भ्रमणका क्रममा एक भिडियो वक्तव्य जारी गर्दै नेतन्याहूले भने, “मैले हाम्रा सबै बन्धकहरूलाई मुक्त गर्नका लागि तत्काल वार्ता सुरु गर्न निर्देशन दिएको छु ।”

“म आईडीएफ (इजरायल डिफेन्स फोर्सेस)को गाजा सिटीमा नियन्त्रण कायम गरी हमासलाई पराजित गर्ने योजनालाई अनुमोदन गर्न आएको हुँ,” उनले भने ।

हमासलाई पराजित गर्नु र आफ्ना सबै बन्धकहरूलाई मुक्त गर्ने दुई विषयहरू एकसाथ जोडिएको भन्दै नेतन्याहूले आगामी वार्ताका चरणहरूबारे थप जानकारी भने दिएनन् ।

इजरायली अधिकारीहरूले यसै सातादेखि आंशिक बन्धक मुक्त गर्ने प्रस्ताव मात्र समावेश युद्धविराम सम्झौताको विरोध गर्दै आएका छन् ।

यो आरोप रोयटर्सले उदृत गरेको एक वक्तव्यअनुसार बुधबार, हमासले मध्यस्थकर्ताहरूको युद्धविराम प्रस्तावलाई बेवास्ता गरेर नेतन्याहूले नै सम्झौतामा बाधा पुर्‍याएको आरोप लगाएको थियो ।

गत शनिबार, नेतन्याहूको कार्यालयले वक्तव्य जारी गर्दै इजरायलले सबै बन्धकहरूलाई एकैपटक मुक्त गर्ने सर्तमा मात्र सम्झौता गर्ने बताएको थियो । उक्त वक्तव्यमा युद्ध समाप्त गर्ने सर्तहरूमा हमासको निशस्त्रीकरण, गाजाको गैरसैनिकीकरण, गाजा परिधिमा इजरायली नियन्त्रण र हमास तथा प्यालेस्टिनी अथोरिटीबाहेकको शासन स्थापना समावेश भएको जनाइएको थियो । बीबीसीबाट