मेची भन्सार कार्यालयको राजस्व बढ्यो

मेची भन्सार कार्यालयको राजस्व बढ्यो



झापा । मेची भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ७.७४ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गएको आर्थिक वर्षको साउनमा एक अर्ब १७ करोड ४० लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

मेची भन्सारबाट गएको आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको यही अवधिमा आयात ४.९० प्रतिशत र निर्यात १४.६८ प्रतिशतले घटेको छ । आयात निर्यातमा कमी आए पनि राजस्व रकम भने आयातबाट ६.८७ प्रतिशत र निर्यातमा ८०.१४ प्रतिशतले बढेको भन्सार कार्यालयले जनाएको छ ।

काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, गाडी र गाडीका पाटपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रशोधनलगायत आयात हुने गरेको छ । त्यहाँबाट चिया, अलैँची, अम्रिसो, अदुवालगायत उत्पादन निर्यात हुने गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।