प्रधानमन्त्री ओलीसँग भियतनामकी उपराष्ट्रपतिको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग भियतनामकी उपराष्ट्रपतिको भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा नेपाल–भियतनामबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा छलफल भएको छ। बैठकमा व्यापार, लगानी, सांस्कृतिक आदानप्रदान, धार्मिक सहकार्य, पर्यटन प्रवर्द्धनका लागि हवाई सम्पर्क विस्तार तथा डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्य बढाउनेबारे कुराकानी भएको उल्लेख छ।

यसअघि उनले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग याक एन्ड यति होटलमा भेटवार्ता गरेकी थिइन्। शनिबार नेपाल आगमनलगत्तै उपराष्ट्रपति सुआनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेट गरेकी थिइन्। सो अवसरमा मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष उडान सुरु गर्न सुझाव राखेकी थिइन्।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा नेपाल आएकी हुन्। नेपाल र भियतनामबीच सन् १९७५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो।

भ्रमण कार्यक्रमअनुसार, उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नेछिन्। त्यस्तै, काठमाडौं र ललितपुरका प्रमुख ऐतिहासिक स्थलहरूको अवलोकनपछि उनी स्वदेश फर्किने कार्यतालिका रहेको छ।