काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।
अहिले नेपाल राष्ट्र बैङ्कबाट निष्कासन भएका विकास ऋणपत्र तीन वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन् । अहिले तीन वर्षका लागि विकास ऋणपत्र–२०८५ ‘ढ’ बोलकबोलमार्फत जारी गर्ने तयारी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
ऋणपत्र खरिद गर्न इच्छुक बैङ्क तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । ऋणपत्रको सावाँ भुक्तानी २०८५ सालकाे भदाै १२ गते हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरिने राष्ट्र बैङ्कले जनाएको छ ।
ऋणपत्रमा न्यूनतम ५० हजार रुपैयाँ र अधिकतम कुल निष्कासित रकमको सीमाभित्र नबढाइ ५० हजारले भाग जाने अङ्कमा मात्र बोलकबोल पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया