गोंगबुको एक घरमा प्रहरीकाे छापा, ठूलो परिमाणमा रकम र सुन फेला

गोंगबुको एक घरमा प्रहरीकाे छापा, ठूलो परिमाणमा रकम र सुन फेला

रकम सुन कारोबारीको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान



काठमाडौं । काठमाडौंको गोंगबुको एक घरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले छापा मारेकाे छ । त्यस क्रममा प्रहरीले ठूलो परिमाणमा रकम र सुन फेला पारेको छ ।

मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले आशंकाको भरमा सो घरमा छापामा मार्दा ठूलो परिमाणमा रकम र सुन भेटिएको हो । उक्त घरबाट गोरखा घर भई गोँगबु बस्ने ७७ वर्षीय विनोद श्रेष्ठ नाम गरेका व्यक्ति पनि पक्राउ परेका छन् ।

७७ वर्षीय श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड राखेको पाइएको छ । अहिलेसम्म बरामद रकमअनुसार ३ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले बताएको छ ।

त्यसैगरी सुनका गरगहनाहरु पनि बरामद भएको पाइएको छ । उक्त रकम श्रेष्ठले कहाँबाट ल्याए, के प्रयोजनाका लागि राखे भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यद्यपि प्रहरीले उक्त रकम अवैध रहेको बताएको छ ।

बरामद भएको रकम ठूलो परिमाणमा रहेकोले गणनाको लागि प्रहरीले बैंकबाट मेसिन मगाएर गनिएकाे हाे । सो रकम सुन कारोबारीको भएको अनुमान गरिएको छ ।

यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।