नेपाली केराले नै दशैँ, तिहार र छठ धान्छ : आयात नगर्न व्यवसायीको अनुरोध

नेपाली केराले नै दशैँ, तिहार र छठ धान्छ : आयात नगर्न व्यवसायीको अनुरोध



काठमाडौं । केरा व्यवसायीले नेपालमा नै उत्पादित केराले दशैँ, तिहार र छठ पर्व धान्ने भएकाले आयात नगर्न अपिल गरेका छन् ।

नेपाल केरा उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको बताए ।

केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारमा समेत प्रत्यक्ष असर पार्नुका साथै नेपाली व्यावसायिक केरा उत्पादक किसान विस्थापित हुनसक्नेसम्म जोखिम रहेको उनको भनाइ छ ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो, कैलालीका अध्यक्ष दीपेन्द्र थारू, कञ्चनपुरका अध्यक्ष सुरेन्द्र चौधरी, बर्दियाका अध्यक्ष टोपलाल थारू, नवलपरासीका अध्यक्ष लक्खु विक, चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, कैलालीका उपाध्यक्ष टेकेन्द्र धामी र केरा जोन समन्वय समिति नवलपरासीका संयोजक युवराज मौर्यलगायतले हस्ताक्षर गरेको विज्ञप्तिमा केरा आयातमा रोक लगाउनसमेत माग गरिएको छ ।