अत्तरिया (कैलाली) । कैलाली कारागारबाट भागेका २२६ जना कैदी बन्दी कारागार फर्किएका छन् ।
गत भदौ २४ गते ‘जेन जेड’ पुस्ताको प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदी बन्दी फर्किएका हुन् । हालसम्म २७ महिला र १९९ पुरुष कैदी बन्दी कारागार फर्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए। उनले केही कैदी बन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए ।
फर्किएकामध्ये अधिकांश आफैँ सम्पर्कमा आएका र केहीलाई प्रहरीले टीकापुर क्षेत्रबाट पक्राउ गरी बुझाएको उल्लेख गर्दै उनले कैदी बन्दी फर्कने क्रम जारी रहेको बताए। उनले भने, “कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ । हामीले पनि सूचना जारी गरेका छौँ । प्रहरीले पनि खोजी कार्य जारी राखेको छ । छिट्टै सबै कैदी बन्दी फर्किने विश्वास छ ।”
कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदी बन्दी रहेका थिए । ‘जेन जेड’ पुस्ताको प्रदर्शनका क्रममा ६६६ कैदी बन्दी भागेका कारागार प्रशासनले जनाएको छ। अझैँ ४४१ जना कैदी बन्दी कारागार बाहिर रहेका प्रमुख सापकोटाले जानकारी दिए ।


प्रतिक्रिया