काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड ३६ घण्टादेखि अवरुद्ध छ । पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि यो सडक अवरुद्ध भएको हो ।
उक्त सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको छ । पहिरो पन्छाउने प्रयास जारी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरो पन्छाउने कार्य राति रोक्ने गरिएको छ । बिहानदेखि बेलुकासम्म पहिरो पन्छाउन टोली खटिए पनि सफल भएको छैन । मुग्लिनतर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भइरहेकाले निर्बाध रूपमा पहिरो हटाउन समस्या भएको सडक डिभिजनले जनाएको छ ।
आइतबार पनि बिहानदेखि पहिरो पन्छाउने कार्य थालिएको छ । ढुंगा झर्ने क्रम अझै नरोकिएको सडक डिभिजनले जनाएको छ । पहिरो हटाएर आज बिहान १०/११ बजेसम्म बाटो खुलाउन सकिने प्रारम्भिक अनुमान छ ।
यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा अड्किएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न कार्यालयले अनुरोध गरेको छ । सकभर वैकल्पिक सडकको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ ।


प्रतिक्रिया