हात्ती भगाउने पुराना तरिका असफल बन्दै गएपछि किसान चिन्तित

हात्ती भगाउने पुराना तरिका असफल बन्दै गएपछि किसान चिन्तित



कञ्चनपुर । हात्ती भगाउने पुराना तरिकाहरू असफल बन्दै गएपछि हात्ती प्रभावित क्षेत्रका किसानहरू चिन्तित बनेका छन् ।

यसअघि साइरन बजाउँदा, उज्यालो देखाउँदा, पटाका पड्काउँदा हात्ती भाग्ने गरेकोमा अहिले यी सबै उपाय विफल हुन थालेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ का किसान दामोदर जोशीले बताए ।

उनका अनुसार पहिले पहिले आगोको सानो अगुल्टो देखाउँदा पनि भाग्ने हात्ती अहिले आगो बाल्दा वा टायर बालेर धपाउन खोज्दा पनि तर्सिन छाडेका छन् ।

शुक्लाफाँटा नगरपालिकाका धेरैजसो किसानको साझा पीडा हात्ती आतङ्क बनेको छ । दुई दिनअघि वडा नम्बर ५ गर्जमुनी गाउँको धानबारीमा पसेका झन्डै दुई दर्जन हात्तीलाई किसान, प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका सुरक्षाकर्मीले निकै प्रयास गर्दा पनि निकाल्न सकेनन् । धान खाएर अघाएपछि बेलुकीपख मात्रै हात्ती निस्किएका थिए ।

हात्ती बुद्धिमान् जनावर भएकाले पटक–पटक एउटै अनुभव भएपछि त्यसलाई सहजै चिन्ने प्राणाीविज्ञहरू बताउँछन् । अध्ययन अनुसार हात्तीलाई दैनिक झन्डै दुई सय किलो खाना आवश्यक पर्छ ।

मकै, धान, गहुँ, मसुर, उखु र केराजस्ता बालीको सुगन्धले हात्तीलाई टाढैबाट आकर्षित गर्छ । खेतबारीबाट हात्ती धपाउने उपाय असफल बन्दै गएको अवस्थामा हात्तीले मन नपाराउने बालीतर्फ लाग्न विज्ञहरूको सुझाव छ ।