बेनीघाट पहिराे : वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

बेनीघाट पहिराे : वैकल्पिक बाटो प्रयोग गर्न आग्रह



काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला (बाँदरे मोड) मा सुक्खा पहिरो खसेका कारण यात्रु र गाडी चालक अलपत्र परेका छन् ।

पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने देखिन्छ । यो बाटोको सट्टामा विकल्प प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।

बेनीघाट रोराङको विकल्पमा साना तथा मझौला गाडीले धादिङको मलेखु (फुर्के खोला)–धादिङबेशी–आरुघाट–मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्यपहाडी राजमार्ग हुँदै डुम्रे तथा उपयुक्त वैकल्पिक बाटो प्रयोग गर्न सक्ने सूचनामा उल्लेख छ ।

साथै अरू ठाउँतर्फ जाने ठूला तथा साना सबै गाडीलाई सुरक्षा निकायसँग समन्वय र निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।

जवाङ र तुइन खोलाको पहिरोले दसैंमा घर हिँडेका र काठमाडौंतर्फ आइरहेका यात्रु समस्यामा परेका छन् । काठमाडौंबाट छुटेका रात्रीबससमेत नागढुंगा–मुग्लिनको जाममा छन् । ठूला बसहरूले वैकल्पिक बाटो प्रयोग गर्न नसक्ने हुँदा पनि यात्रुहरू अलपत्र पर्ने अवस्था देखिएको छ ।