काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला पहिरो हटाउन शुक्रबार बिहान सम्म लाग्ने अनुमान गरिएको छ । सडक डिभिजन भरतपुरले बुधबार साँझ पानी परेकाले आज पहिरो हटाउन सक्ने सम्भावना नभएको जनाएको हो ।
पहिरो पन्छाउन शुक्रबार बिहानसम्म लाग्ने सडक डिभिजन भरतपुरका सूचना अधिकारी तथा इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए । उनले भने, ‘फेरि पानी परेन भने भोलि बिहान ११ बजेतिर सञ्चालन ल्याउन सकिन्छ कि भन्ने अनुमान छ ।’
अहिले ६ वटा उपकरण परिचालन गरिएको छ । दुई साइडबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । तर एक साइडमा दुई वटा मात्र उपकरण प्रयोग गर्न सकिने भएकाले ढिला भएको उनको भनाइ छ ।
मंगलबार दिउँसो ४ः ५५ बजे मुग्लिनको तुइनखोला नजिकै ठुलो पहिरो गएको थियो । बुधबार बिहानैदेखि पहिरो हटाउने कार्य सुरु भएको थियो ।
१६० मिटर सडकमा पहिरो थुप्रिँदा १८ मिटर अग्लो पहाड बनेको थियो । उक्त पहिरोमा थुप्रिएको ढुंगामाटो ३४ हजार ट्रक भएको सडक विभागको अनुमान छ ।


प्रतिक्रिया