काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको र हटाउन आवश्यकभन्दा बढी नै उपकरण परिचालन गरिएको बताएका छन् ।
बिहीबार (असोज ९) सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा उनले ठूलो सुक्खा पहिरो खस्दा सडक सञ्चालनमा अवरोध सिर्जना भएको उल्लेख गरे ।
उनका अनुसार, पहिरो खसिरहने भएकाले राति काम गर्न सकिने अवस्था छैन । जोखिम छ । बिहीबार (असोज ९)देखि पानी नपरे राति पनि काम गरेर शुक्रबार (असोज १०) बिहानसम्ममा सडक निर्बाध रूपमा सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
त्यसको विकल्पका रूपमा कान्ति राजपथ र त्रिभुवन राजमार्ग सुधार गरेर सञ्चालनमा ल्याइएको छ । बीपी र कोदारी राजमार्ग निर्बाध सञ्चालनमा रहेको उनले बताए ।
मन्त्री घिसिङका अनुसार, पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा छ । सरकारले मुग्लिङ–नारायणगढ सडकखण्डलाई प्राथमिकतामा राखेर यथाशीघ्र यातायात सहज बनाउने तयारी अघि बढाएको उनले बताए ।
मन्त्री घिसिङको भनाइ
बाढीपहिरोको विपद् आएको छ । मुख्य राजमार्ग मुग्लिङदेखि नारायणगढ रुटमा धेरै ठूलो पहिरो गएको छ । हामीले पहिरो पन्छाएर पनि खुलाएका थियौँ । दोस्रोपटक त्योभन्दा पनि ठूलो पहिरो गएको छ । सुक्खा पहिरो जुन गएको छ, त्यसले गर्दा ठूलो समस्या आएको छ । हामीले उपकारणहरू चाहिनेभन्दा बढी प्रयोग गरेकै छौँ । त्योभन्दा धेरै प्रयोग गर्न सकिँदैन । पहिरो खसिरहने, राति काम गर्न नसकिने, एकदमै ठूलो रिक्स त्यहाँ भएको छ । त्यसलाई हामीले दिनमा मात्रै काम गर्नुपर्ने स्थीति छ । आजदेखि हामीले पानी परेन भने राति पनि काम गर्नेछौँ । आज राति, भोलि बिहानसम्ममा क्लियर हुनसक्छ । पहिरोका कारण सबै ब्लक भएको छैन । हामीले कान्तिपथ र त्रिभुवन राजमार्ग सुधार गरेर बाटो खुलाएका छौँ । बीपी राजमार्ग चलिरहेको छ । कुनै समस्या छैन । दिनरात चलिरहेको छ । कोदारी राजमार्ग पनि खुलेको छ । अहिले एकडेढ महिनादेखि हाम्रो धेरै मालवाहक कन्टेनरहरू बोर्डरमा बसेका थिए, ती सबै पास भइसकेको छ । अहिले निर्बाध रूपमा चलेको छ । मुख्य समस्या भनेको अहिले मुग्लिङ–नारायणगढको समस्या हो । तुइन खोलामा ठूलै पहिरो गएको छ ।


प्रतिक्रिया