नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला

नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला



काठमाडौं । नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा मकवानपुरको मकवानपुरगढी र सिन्धुलीको हरिहरपुर क्षेत्रमा फेला पारी पहिचान तथा नामकरण गरेको संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए ।

यी प्रजाति विश्वकै लागि नयाँ प्रमाणित भएको र दुई दिनअघि मात्रै अन्तर्राष्ट्रिय जर्नल ‘जुकिज’ मा प्रकाशितसमेत भइसकेको भट्टराईको भनाइ छ । भट्टराईले फेडेरेशन युनिभर्सिटी अस्ट्रेलियामा छेपारोकै विषयमा विद्यावारिधि गरिरहेका छन् ।

भट्टराईको टोलीले एक वर्षअघि नै नयाँ प्रजाति फेला पारेको र नयाँ प्रजाति यकिन गरेपछि जर्नलमा प्रकाशित भएको हो । मकवानपुरगढीमा भेटिएको छेपारोको नाम ‘मकवानपुरगढी वेन्ट–टोड गेक्को’ र सिन्धुलीको हरिहरपुरको चुरे पर्वतशृङ्खलामा भेटिएको छेपारोको नाम ‘चुरे वेन्ट–टोड गेक्को’ राखिएको छ ।

संसारभरि ३ सय ८० भन्दा बढी प्रजातिका छेपारो पाइन्छन् । नेपालमा अहिले फेला परेका दुईसहित जम्मा सात प्रजाति फेला परेको छ ।