काठमाडौं । व्यावसायिक घराना चौधरी समूह (सिजी ग्रुप) ले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका प्रत्येक सहिद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ ।
गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले आन्दोलनका सहिदप्रति उच्च सम्मान व्यक्त गर्दै आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने जानकारी गराएका हुन् । “आन्दोलनका सहिदप्रति चौधरी ग्रुपका तर्फबाट हार्दिक श्रद्धाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान व्यक्त गर्दछौँ,” उनले लेखेका छन्, “यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।”
उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, सोरुम र कारखानामा भएको ठुलो क्षति र विध्वंस भएको थियो । यो क्षतिले आफूहरूलाई गहिरो पीडा दिएको भए पनि पीडादायी घडीमा पनि दृढ आत्मविश्वाससाथ पुनर्निर्माणको यात्रामा अघि बढेको बताएका छन् ।
“हामीसँगै उभिने छौँ, पुनर्निर्माण गर्ने छौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्ने छौँ,” चौधरीले भनेका छन् ।
रोजगारी प्रदान गर्ने कार्यका लागि गु्रपको टिमले सम्पूर्ण सहिद परिवारलाई सम्पर्क गर्दै गरेको र यसका लागि कम्पनीका संस्थागत सञ्चार विभाग प्रमुखसँग पनि सम्पर्कमा आउन अनुरोध गरेका छन् ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा चौधरी निवासमा तोडफोड भएको थियो । त्यस्तै चौधरी समूहको सतुङ्गलस्थित सिजी पार्कमा तोडफोड लुटपाट तथा आगजनी गरी ध्वस्त पारिएको थियो ।
त्यस्तै ग्रुप अन्तर्गतको थापाथलीस्थित सिजी अटोको सोरुममा पनि आगजनी भएको थियो । यस्तो क्षति भए पनि समूहले आफ्नो व्यवसायलाई बलियो रूपमा पुनस्र्थापित गर्न लागिरहेको जनाएको छ ।

प्रतिक्रिया