भेनेजुएलाकी विपक्षी नेत्री मारिआ कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी विपक्षी नेत्री मारिआ कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार



काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय ५८ वर्षीया मचाडोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

समितिले मचाडाेलाई आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवाका रूपमा व्याख्या गरेको छ । मचाडो नोबेल शान्ति पुरस्कार पाउने २०औं महिला हुन् ।

यो वर्ष शान्ति पुरस्कारका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम निकै चर्चामा थियो । उनले आफूले विभिन्न युद्धहरू अन्त्य गराएको दाबी गर्दै पुरस्कार पाउनुपर्ने बताउँदै आएका थिए ।

अब अर्थशास्त्रतर्फको नोबेल पुरस्कार आउँदो सोमवार घोषणा हुनेछ । यसअघि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको पुरस्कार घोषणा भइसकेको छ ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोनर पाउँछन् । यदि एकभन्दा धेरै विजेता भएमा पुरस्कार रकम उनीहरूबीच भाग लगाइन्छ ।

नोबेल पुरस्कार डिसेम्बर १० मा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ ।