सन्दीपकाे उत्कृष्ट बलिङमा कतारमाथि नेपालको रोमाञ्चक जित

सन्दीपकाे उत्कृष्ट बलिङमा कतारमाथि नेपालको रोमाञ्चक जित



काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो ।

कतारका लागि ओपनरहरू इमाल लियानागेले ५५ रन र जुबेर अलीले ५२ रन बनाए ।

नेपालका लागि सन्दीपको ५ विकेटसँगै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । ३.५ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर ५ विकेट लिए ।

कतारविरुद्ध नेपालले शानदार पुनरागमन गरेको हो । आजपनि दीपेन्द्रको एक रनआउट र आदिलको एक रनआउटले खेल नेपालको पक्षमा ल्याएको थियो ।

अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन आवश्यक थियो । तर, सन्दीपले अन्तिम ओभरमा २ विकेट लिदै नेपाललाई ५ रनको रोमाञ्चक जित दिलाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

कप्तान रोहितले ५८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन र गुल्शन झाले १६ रन बनाए ।

कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । डानियल लुइसले पनि ३ विकेट लिए । मुहम्मद असिमले १ विकेट लिए ।

नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराएको थियो ।