काठमाडौं । अभिनेता दीपकराज गिरीले भदौ २४ गतेको घटनामा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको तोडफोड तथा आगजनीमा कलाकार गिरी पनि संलग्न रहेको भन्दै तस्बिर सार्वजनिक भएपछि उनले त्यसको खण्डन गरेका हुन् ।
‘त्यस दिन गणेश कार्की (रास्वपा नेता) भाइले फोन गरेर सर्वपक्षीय सानो भेला छ, बानेश्वरमा कलाकारको रूपमा तपाइहरू पनि आउनुस् भन्नुभयो, त्यसपछि म घरबाट हिडेँ, त्यतिबेला बाहिर सामान्य तोडफोड सुरू भैसकेको थियो । बानेश्वर जाने बाटोमा पर्दो रहेछ त्यो घर । कसको घर हो त्यो पनि थाहा थिएन । त्यहाँ केही रमिते केटाहरूले तोडफोड भइसकेको घर हेरिरहेका थिए । मलाइ हात हल्लाए फोटो पनि खिची नै रहेका थिए । भएको त त्यति नै थियो तर अहिले त्यो बाटोमा हिँडिहेको फोटो हालेर आफ्नै शैलीको राम्रो कथा बुनेछन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले हरेक परिवर्तनको आन्दोलनमा झैं यसपटक पनि आफ्नो नैतिक समर्थन रहेको बताएका छन् ।


प्रतिक्रिया