मौसम सफा नभएसम्म पदयात्रामा नजानू : कास्की प्रशासन

मौसम सफा नभएसम्म पदयात्रामा नजानू : कास्की प्रशासन



पाेखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन पर्यटकलाई आग्रह गरेको छ ।

प्रशासनले बिहीबार सूचना जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षा र हिमपातको प्रक्षेपण गरिएकाले पदयात्रीलाई सो आग्रह गरिएको जनाएको छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा, खुमईलगायतका क्षेत्रमा पदयात्रामा नजान तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले जिल्लाका विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ र सिक्लेस सडकखण्डमा भोलि बिहानसम्म रातको समयमा यातायात सञ्चालनमा समेत रोक लगाएको छ ।