धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा ‘रेडपाण्डा’ भेटियो

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा ‘रेडपाण्डा’ भेटियो



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नम्बर २ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएको छ । तीन वटा ‘क्यामेरा’ जडान गरिएकोमा दुई वटामा रेडपाण्डा भेटिएको हो ।

जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले ६ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको अध्ययनबाट पुष्टि भएको दाबी गरे ।

स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपाण्डा भए/नभएको स्थलगत अध्ययन गरेका थिए । अनुसन्धानकर्ता लरिसा गौतमले त्यस क्षेत्रमा रेडपाण्डा देखाउन पर्यटक भित्र्याएर समुदायमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने बताए ।

रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगामा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भूइँमा झर्ने बताइएको छ ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययन अनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिएको छ ।

विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । अनुुसन्धानकर्ताका अनुसार नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको बताइएको छ ।