हाँसेर बोलिदिए पुग्छ, निसर्त एमालेमा फर्किन्छौं : किसान श्रेष्ठ

हाँसेर बोलिदिए पुग्छ, निसर्त एमालेमा फर्किन्छौं : किसान श्रेष्ठ



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार (किसान) श्रेष्ठले आफू निसर्त नेकपा (एमाले)मा फर्किन तयार रहेको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै सर्तबिना फर्किन तयार रहेको बताए ।

उनले आफूले पसिना बगाएको, जीवन अर्पण गरेको पार्टीमा फर्किन चाहेको बताए । आफूहरू कुनै पदका लागि फर्किन नलागेको उनले स्पष्ट पारे ।

“हाम्रा पार्टीका महासचिव, सम्मानित नेताहरूले अर्को पार्टी पुनर्गठन गर्ने प्रक्रियामा हुनुहुन्छ । हामी यो टिम वा हामी साथीहरू पार्टीका स्थायी कमिटीका सदस्य रामकुमारी झाँक्री लगायतका साथीहरू कसैसँग समाहित र कसैसँग एकताभन्दा पनि हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा फर्किने अभियानमा छौँ ।”

उनले थपे, “हामी घर फर्किने क्रममा नेकपा एमालेसँग वार्ता संवादमै छौँ । हामी कुनै पदका लागि होइन, निसर्त घरमा फर्किंदै छौँ । हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्छ ।”