५० अर्ब तरलता तान्दै केन्द्रीय बैंक

५० अर्ब तरलता तान्दै केन्द्रीय बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रिँदा लगानीको सकस थप चर्किएको छ । खासगरी बजारबाट कर्जाको माग सुस्त हुँदा बैंकहरूले लगानी बढाउन सकेका छैनन्, जसका कारण यतिबेला बैंकहरूमा १० खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) थुप्रियको छ ।

१५ कात्तिकसम्मको तथ्यांक हेर्दा बैंकहरूमा ७४ खर्ब ८२ अर्बमाथि निक्षेप संकलन हुँदै गर्दा ५६ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको मात्र कर्जा लगानी भएको छ । समीक्षा अवधिमा बैंकहरूमार्फत ७४.४७ प्रतिशत मात्र कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम भएको छ ।

बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कामय गर्न पाउँछन्, तर बजारमा खासगरी निजी क्षेत्रबाट कर्जाको माग नै नहुँदा बैंकहरूमाथि लगानीको चाप पर्न गएको हो । जसका कारण तरलता व्यवस्थापनको दबाब केन्द्रीय बैंकमा परेको छ ।

नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट निरन्तर बैंकिङ प्रणालीबाट तरलता प्रशोधन गरिरहेको छ । यसैको निरन्तरता केन्द्रीय बैंकले बुधबार थप ५० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार ५० अर्बको निक्षेप संकलन अधिकतम १७५ दिनका लागि हुनेछ । अल्पकालीन रिपोको रुपमा निक्षेप संकलन उपकरण जारी हुने गरे पनि बजारमा व्याप्त तरलता व्यवस्थापनको सकस बढ्दै जाँदा केन्द्रीय बैंकले लामो अवधिका लागि यो उपकरण जारी गर्न थालेको हो । यसले बजारमा कति लगानीको सकस रहेको छ भन्ने प्रस्ट हुन्छ ।