नेपालमा सात लाखभन्दा बढी लागुऔषध प्रयोगकर्ता

नेपालमा सात लाखभन्दा बढी लागुऔषध प्रयोगकर्ता



काठमाडौं । लागुऔषधको कुलतमा फस्नेमा १५ देखि २५ वर्ष उमेर समूहका युवा रहेको पाइएको छ । लागुऔषध कुलतले परिवार र समाजलाई नै आक्रान्त पार्न थालेपछि रोकथामका लागि सामूहिक प्रयास आवश्यक देखिएको हो ।

पछिल्लो पाँच वर्षमा लागुऔषध कारोबार, ओसारपसार र प्रयोग गुणात्मक रूपमा वृद्धि भएको पाइएको छ । आव २०७६/७७ मा लागुऔषध कारोबार र ओसारपसारमा संलग्न चार हजार ५४६ जना पक्राउ परेकामा १४९ जना विदेशी रहेका थिए । उनीहरूको साथबाट गाँजा, चरेस, हेरोइन, अफिम, कोकिनलगायत तीन लाख ३५ हजार ७१० थान फर्मास्युटिकल ड्रग्स बरामद गरेको थियो ।

गत आव २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न पक्राउ पर्नेका सङ्ख्या करिब सात हजार र ४० लाख थान फर्मास्युटिकल ड्रग्स बरामद भएको थियो ।

लागुऔषध कारोबार बढ्दै जाँदा अधिकांश युवा पुस्ता नै दुव्र्यसनको सिकार बनिरहेको विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ ।

सरकारी तथ्याङ्क अनुसार नेपालमा लागुऔषधको प्रयोगकर्ताको सङ्ख्या एक लाख ३४ हजार रहेको देखिए पनि सात लाखभन्दा बढी नेपाली लागुऔषधको प्रयोगकर्ता रहेको दाबी विभिन्न गैरसरकारी संस्थाले गर्दै आएका छन् ।