काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । अटेर गरी बालेमा प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।
चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता बस्तु बाल्न रोक लगाइएको हो ।
जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढ्ने गरेको छ । प्रदूषण बढ्नमा यसरी खुला रुपमा बालिने बस्तुको महत्वपूर्ण हिस्सा छ । विभागका प्रमुख सरिता राई भन्छन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।’
वायु प्रदूषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्छ । ती व्यक्तिहरुसँगै सहरबासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रुपमा बस्तु बालेर धुँवा उत्सर्जन घटाउनुपर्छ ।


प्रतिक्रिया