चिसो बढ्न थालेसँगै बागलुङको बुकीपाटन सुनसान

चिसो बढ्न थालेसँगै बागलुङको बुकीपाटन सुनसान



बागलुङ । बर्खामा आन्तरिक पर्यटकले चहलपहल बढेको बागलुङको बुकीपाटन चिसो बढ्न थालेसँगै सुनसान भएको छ । गोठाला र वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक लागेयता सुनसान हुन थालेको हो । हरियो घाँस सुक्दै गएपछि अग्ला पहाड पनि उराठिला बनेका छन् ।

पहिले गोठालाले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकीपाटनमा पछिल्लो दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।

असारदेखि असोजसम्म बुकीपाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बसाइँ हुने गर्छ । गोठालाले गोठ बेसी झारेपछि बुकीपाटन सुनसान छ । चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन् । समुन्द्री सतहदेखि झन्डै चार हजार पाँच सय मिटरको उचाइमा पर्ने बुकीपाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।

बर्खायाममा बेसी क्षेत्रमा गर्मी हुने हुँदा शीतलता खोज्दै बुकीपाटन चढ्ने तर अहिले चिसो बढेपछि बुकीपाटन जाने पर्यटक कम भएको ढोरपाटनका होटल व्यवसायी सन्देश थापाले बताए । असोजसम्म बुकीपाटन पुग्ने पर्यटकको सङ्ख्या धेरै भए पनि अहिले फाट्टफुट्ट मात्रै जाने गरेको उनको भनाइ छ ।