काठमाडौं । जनता दल (युनाइटेड) का प्रमुख नीतीश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का वरिष्ठ नेताहरूको उपस्थितिमा इतिहास रच्दै आज १०औँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।
मुख्यमन्त्री नीतीश कुमारसँगै २६ जना मन्त्रीले पनि शपथ लिएका छन् । २६ जना मन्त्रीमध्ये तीन जना महिला र एक जना मुस्लिम विधायक छन् ।
शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न भएको हो । बिहारमा नीतीश कुमारले सन् २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गरेका थिए ।
हिजो पटनामा बसेको नयाँ विधायकहरूको बैठकमा जेडीयू विधायक दलले सर्वसम्मतिले नीतीश कुमारलाई पहिलो पटक आफ्नो दलको नेताका रूपमा चुनेको थियो । यसपछि एनडीए विधायक दलले पनि आज उहाँलाई सर्वसम्मतिले नेता चयन गर्दै नयाँ सरकार गठनको बाटो खुला गरेको हो ।
भारतीय जनता पार्टी (भाजपा) को प्रदेश मुख्यालयमा बसेको बैठकले सम्राट चौधरी र विजयकुमार सिन्हालाई क्रमशः भाजपाको विधायक दलको नेता तथा उपनेता चयन गरेको थियो ।
बिहारमा विधायक दलको नेतृत्व चयनका लागि केन्द्रीय पर्यवेक्षकका रूपमा आएका उत्तर प्रदेशका उप–मुख्यमन्त्री केशवप्रसाद मौर्यले दुवै नाम प्रस्ताव गरेको थियो जसलाई बाँकी सांसद तथा विधायकहरूले समर्थन जनाएका थिए ।
७४ वर्षीय नीतीश कुमार सन् २०१४–१५ बीच नौ महिनाको छोटो अवकाश बाहेक सन् २००५ नोभेम्बरदेखि लगातार मुख्यमन्त्री पदमा रहँदै आएका छन् ।
यसपटक एनडीएले २ सय ४३ मध्ये २ सय २ सिट जित्दै ऐतिहासिक बहुमत हात पार्याे । महागठबन्धन भने ३५ सिटमा सीमित रह्यो । तीन चौथाइ बहुमतसहित एनडीएले राज्यमा विगत १५ वर्षपछि दोहोरो इतिहास बनाएर २ सय भन्दा बढी सिट जित्ने उपलब्धि पुनः दोहोर्याएकाे छ ।


प्रतिक्रिया