त्रिशूलीमा नुहाउने क्रममा हराएका दुई युवाको खोजी चल्दै

त्रिशूलीमा नुहाउने क्रममा हराएका दुई युवाको खोजी चल्दै



काठमाडाैं । गोरखा र चितवनको सिमानमा रहेको त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवा बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनघाट क्षेत्रमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुल नजिकै नदीमा पस्दा उनीहरूलाई नदीले बगाएको हो ।

बेपत्ता हुनेहरूमा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर २ बनसाराका २१ वर्षीय शङ्कर चौधरी र राजापुर नगरपालिकाका २२ वर्षीय सौरभ थारु छन् । दुवै जना गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर १ बुट्टारमा रहेको त्रिशूली हाइड्रोपावर आयोजनामा कार्यरत मजदुर हुन् ।

खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनघाटबाट गोताखोरसहितको विशेष टोली परिचालन भएको छ । हिजो बेलुका नै नदी आसपासका क्षेत्रमा खोजी गरिए पनि उनीहरूको अवस्था पत्ता नलागेको र आज थप जनशक्ति र उपकरणसहित खोजी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।