काठमाडौं । सरकारले चुनावका बेला सामाजिक सञ्जालको प्रयोगमार्फत हुन सक्ने दुरुपयोगका घटना रोक्न निगरानी बढाउने भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्ने कामलाई चुनाव केन्द्रित सुरक्षा रणनीतिकै अङ्गका क्रममा लिँदै गैरकानूनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकमा चारवटै सुरक्षा निकायका अधिकारीहरूले चुनावको अवधिमा सामाजिक सञ्जालको दुरुपयोग निकै बढ्न सक्ने रिपोर्टहरू आइरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ को कार्यान्वयन, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले चुनावको काममा समन्वय गर्न गठन गरेका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले चुनावको प्रचारप्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।


प्रतिक्रिया