ओखलढुङ्गामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या

ओखलढुङ्गामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या



काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

एक महिनाअघि पनि चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो ।

वडाअध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनास्थलमा प्रहरी पुगेको बताए । उनले आफू पनि घटनास्थल जाँदै गरेको बताए ।

यसअघि मगर दम्पतीको हत्यामा संलग्न आरोपमा चार जना पक्राउ परेर अनुसन्धान भइरहेको बेला पुनः अर्को हत्याको घटना सार्वजनिक भएपछि स्थानीयवासी त्रसित बनेका छन् । लगातार भएका हत्या घटनाले भदौरे क्षेत्रमा गम्भीर सुरक्षा चुनौती थपिएको भन्दै स्थानीयले दोषीलाई शीघ्र पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।