काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा. डा. सङ्गीता सिंह भण्डारीसहित १९ जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रतिष्ठानका लागि गुणस्तरहीन तथा शर्त र मापदण्ड विपरीतको सीटी स्क्यान मेशिन आपूर्ति गराई अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले भण्डारीसहित प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार तथा डेपुटी फाइनान्स म्यानेजर कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियरद्वय शरद् भण्डारी र आशुतोष भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो ।
यस्तै प्रतिष्ठानका शाखा अधिकृतहरू झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी तथा लेक्चरर डा. श्रीसिया पोख्रेल, आईटी अफिसर हीरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाही, फार्मेसी सुपरभाइजर कुष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।
यसैगरी त्रिवि शिक्षण अस्पतालका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, हिमालयन मेडिटेक प्राली तथा कम्पनीका मुख्य भई काम गर्ने अमर श्रेष्ठ र सञ्जु राजकर्णिकारविरुद्ध पनि मुद्दा दायर भएको छ ।
अख्तियारले उनीहरूसँग जनही ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ बिगो मागदाबी गरेको छ ।


प्रतिक्रिया