मुस्ताङ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको चहल पहल बिस्तारै बढ्दै गएको छ । यहाँका केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ ।
अक्सर यसअघिका पालिका चुनाव र सङ्घीय तथा प्रादेशिक चुनाव वैशाख/जेठ र कात्तिक/मङ्सिर महिनामा हुने गरेपनि यसवर्ष नवयुवा आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभा चुनावको घोषणा भएको हो । जिल्लामा हिउँदयामको जाडो कटाउन यहाँका अधिकांश नागरिक कात्तिक/मङ्सिर महिनामा बेंसी झरेर चैत/वैशाख महिनामा गर्मी शुरू भएपछि उकालो उक्लिने परम्परा छ । घोषित चुनावलाई सफल पार्नुपर्ने दायित्व सरोकारवाला निकायको काँधमा छ ।
यहाँका कतिपय मतदाता पोखरा र काठमाण्डौलगायतका ठाउँमा अस्थायी बसोबास गरेका छन् । मुस्ताङमा बर्सेनि हिउँदयाममा जाडो छल्न बेंसी झर्ने पुख्यौली परम्परा र संस्कृतिको रुपमा चल्दै आइरहेको छ । मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेंसी झरेकाले यहाँको दलहरुको चुनावी गतिविधिमा कमी आएको हो ।
जिल्लाको नेपाल–चीन सीमावर्ती गाउँपालिका अन्तर्गत लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ८० प्रतिशत मतदाता मङ्सिर महिना अगावै जाडो छल्न बेंसीमा झरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । चुनाव नजिकिँदै गरेपनि मतदाता बेंसीमै रहेकाले जिल्लामा चुनावको सरगर्मी नतातिएको अध्यक्ष विष्टको भनाइ छ ।
यतिबेला माथिल्लो मुस्ताङका मतदाता मात्रै होइन तल्लो मुस्ताङका झन्डै ५० प्रतिशत भन्दा बढी मतदाता जाडो छल्न बेंसी झरिसकेका छन् । पर्यटकीय ‘अफसिजन’ र कतिपय किसान स्याउ बगँैचा व्यवस्थापन सकेर तल्लो क्षेत्रका मतदाता बेंसीमा झरेका हुन् ।
चुनावका लागि दुई साताअघि विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयपत्र दाखिला गरेपनि उम्मेदवार र राजनीतिक दलको निर्वाचन प्रचारप्रसार लगायतका गतिविधि सुस्त छ । जिल्लामा मतदाता कम भएपछि राजनीतिक दलका उम्मेदवार मतदाता खोज्न बेंसीमा झरिसकेका छन् ।
तर, यहाँ स्थानीय मतदाता र राजनीतिक दलका उम्मेदवार नभए पनि स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आफ्नो आन्तरिक निर्वाचन तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सुरक्षा निकायले चुनाव सुरक्षाका लागि निर्वाचन प्रहरीको व्यवस्थापन र तालिम अगाडि बढाएको र जिल्लास्थित सुरक्षा समितिले मतदान केन्द्र तथा मतदानस्थलको निरन्तर अनुगमन गरिरहेको बताए । यहाँ चुनावका लागि निर्वाचन सुरक्षा योजना तयार भइसकेको निर्वाचन अधिकारी ज्ञवालीले उल्लेख गरे ।
जिल्लाका धेरैजसो मतदाता यतिबेला पोखरा र काठमाडौंलगायतका ठाउँमा रहेकाले चुनावकोे मितिमा मतदातालाई जिल्ला फर्काउन समस्या रहेको राजनीतिक दलका प्रतिनिधि र उम्मेदवार बताउँछन् । निर्वाचन कार्यतालिका रहेपनि जिल्लाका कतिपय मतदाता चुनावको समयमा जिल्ला फर्किन तयार छैनन् ।
फागुन महिनामा पनि मुस्ताङमा चिसो कायमै रहने भएकाले यहाँका मतदाता वैशाख महिनामा मात्रै जिल्ला फर्किने योजनामा छन् । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचनले आफू र आफ्नोतर्फबाट निर्वाचन प्रचारप्रसारको काम शुरू गरिनसकेको जानकारी दिए । हिमालका मतदाता बेंसीमा रहेकाले बेंसीमै बसेर मतदातासँग सामान्य रुपमा भेटघाट गरेको बताए ।
‘मुस्ताङमा जाउ सुनसान छ, सबै मतदाता बेंसीमै हुनुहुन्छ उहाँले भन्नुभयो, उनले भने, ‘मतदाता जिल्लामा नफर्किएसम्म जिल्लामा चुनावको सरगर्मी चल्दैन । यसैले फागुन लागेपछि मात्रै जिल्ला फर्किएर प्रचारप्रसारमा जुट्छु होला ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गराएका अर्का उम्मेदवार अधितीयचन्द्र थकाली पनि जिल्लाका मतदाता भेट्न बेंसी झर्नुभएको छ । जिल्ला मतदाता जिल्ला बाहिर भएकाले बेंसीमा बसेर भेटघाट गरिहेको बताए ।
‘मतदाता कहाँ बस्नुहुन्छ पहिल्याउनै मुस्किल छ, तैपनि फोन सम्पर्क गरेर मतदाता बसेको ठाउँमा पुग्ने प्रयास गरेका छौँ, उनले भने, ‘जिल्लाको समसामयिक समस्या र पार्टीको एजेन्डाका बारेमा मतदातालाई जानकारी गराउने र मत माग्ने काम गरिरहेका छौंँ ।’
जिल्लाका समस्या र चुनौतीलाई सावधान गर्न पहल गर्ने, उम्मेवार र पार्टीका नीति तथा कार्यक्रम र घोषणापत्र एजेन्डाहरु यहाँका दुरदराजका गाउँ–गाउँमा पुगेर जनता समक्ष प्रस्तुत गरी मतदाता आफूतिर आकर्षित गर्ने समय भए पनि जिल्लामा केही मतदाता जिल्ला बाहिर रहेकाले चुनाव प्रचारप्रसारमा समस्या रहेको नेकपा (एमाले) बाट उम्मेदवारी दिनुभएका ईन्द्रधारा ढाडु विष्टले जानकारी दिए । जिल्लाका मतदाता बेंसीमा को कहाँ बस्छन् भने खोज्दै हिँड्नु परेको बताए ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ जिल्लाको चुनाव प्रचारप्रसारका लागि काठमाण्डौ पुगेको बताए । जिल्लामा मतदाता नभएकाले बेंसीमै बसेर जिल्लाका मतदाता भेटेर मत माग्ने काम गरिरहेको उल्लेख गरे । ‘जिल्लामा गएर चुनाव प्रसार गरौँ भने उता कोही छैनन्, बरु यतै समाजघर र मुस्ताङी बस्ने ठाउँ खोजीखोजी भोटको अपिल गरिरहेको छु, उनले भने, ‘फागुन लागेपछि विस्तारै मतदाता जिल्ला फर्किन थाल्छन्, त्यसपछि जिल्ला फर्किएर चुनावको प्रचारप्रसार गर्छु ।’
जिल्लामा आठ राजनीतिक पार्टीहरुले चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । यहाँ नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल, आम जनता पार्टीले उम्मेदवारी दिएका छन् ।
जिल्लाका बेंसी झरेका मतदातालाई जिल्ला फर्काएर मतदान कार्यक्रममा उपस्थित गराउन राजनीतिक दलका उम्मेदवारलाई हम्मे पर्ने देखिन्छ । जिल्लाका पाँच पालिकामा गरी कूल ११ हजार ३ सय २८ जना मतदाता छन् भने मतदानका लागि ३९ मतदान केन्द्र तथा मतदानस्थल कायम भएको छ ।


प्रतिक्रिया