काठमाडौं । नेकपा एमालेका नेता जितेन्द्रनारायण देवले पार्टी छाडेको घोषणा गरेका छन् । देवले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेले जेनजी आन्दोलनलाई नबुझेको र सच्चिनुको साटो विदेशी षडयन्त्र मात्र देखेकोमा असन्तुष्टि जनाएका छन् ।
‘विगत लामो समयदेखि देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरूको आम विदेश पलायनको विरुद्धमा आक्रोशको विस्फोट थियो भदौ २३ गतेको जेनजी विद्रोह’, देवले भनेका छन् । साथै उनले पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी ढङ्गले पार्टी सञ्चालन गर्ने नेतृत्वको कार्यशैलीसँग असहमत भएकाले पार्टी छाड्नुपरेको देवले बताएका छन् ।
‘पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई ‘विदेशी षड्यन्त्र’ देख्ने, पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढङ्गले पार्टी सञ्चालन गर्ने विचार नीति तथा व्यवहारसँग असहमत भई आजैको मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्दै सबै सम्बद्ध पक्षलाई यस विषयको सार्वजनिक जानकारी गराउँदछु’, देवले भनेका छन् । देव २०८१ असार १७ गते नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए ।
सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । तर पछि एमाले छाडेर उनी विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य भएका थिए ।
फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथै गएका थिए । उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भएका थिए । २० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि उनी १७ असार २०८१ मा एमालेमै फर्किएका थिए ।


प्रतिक्रिया