काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा अब जे हुनेछ त्यो इतिहास हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले परिवर्तनको यो इतिहास नेपाली जनताले सानदार उत्सवका रूपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्ने उल्लेख गरे ।
खुट्टाको समस्याका कारण केही दिन आरामपश्चात् चुनाव प्रचारप्रसारमा फर्किएको उनले बताएका छन् ।
“यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन्,” उनले लेखेका छन् ।
लामिछानेले सिंहदरबार पुग्न होइन बदल्न चाहेको बताए । “पदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरीरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरका अदालत धाउँदा धाउँदा थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु तर मेरो प्रयास बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरबार पुग्न होइन सिंहदरबार बदल्न माग्दैछु घण्टीमा भोट,” उनले भने ।
सभापति लामिछानेले पुरानो संसद् नस्वीकार्ने बताएका छन् । “मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद्, षडयन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्दैनौँ,” उनले भनेका छन् ।


प्रतिक्रिया