निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नुपर्छ : भण्डारी

निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नुपर्छ : भण्डारी



काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने बताएका छन् । उनले दुरुपयोगले निर्वाचन प्रक्रियालाई दखल दिने बताए ।

निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न पहल गर्ने प्रतिबद्धतासहित आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले यस्तो बताएका छन् । प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनुपर्ने भण्डारीको भनाइ छ । निर्वाचन प्रयोजनार्थ टिकटकले गरेको सहयोगप्रति उनले धन्यवाद दिए ।

आयोगले आगामी निर्वाचनमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी गलत सूचना, भ्रम फैलाउने सामग्री तथा निर्वाचन आचारसंहिताविपरीतका क्रियाकलाप नियन्त्रण गर्न प्रयास गरिरहेको छ । यस सन्दर्भमा टिकटक जस्ता प्लेटफर्महरूबाट प्राप्त प्रतिबद्धता तथा सहयोगलाई आयोगले सकारात्मक रूपमा लिएको छ ।

“आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनु हुँदैन । दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको संग्लिएको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुन्छ,” भण्डारीले भने, “विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनसँग छ । अब नेपालको निर्वाचनलाई टिकटकमार्फत हामी यसरी सहयोग गर्छौं भनेर जुन प्रतिबद्धता जनाउनुभयो, यो धेरै महत्त्वपूर्ण छ ।”