एकैदिनमा हुन्छ चुनाव, दुईचोटी हुनेवाला छैन : प्रधानमन्त्री कार्की

एकैदिनमा हुन्छ चुनाव, दुईचोटी हुनेवाला छैन : प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेकी छन् ।

बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् ।

उनले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन आग्रह गरिन् ।

निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकुल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने उनको भनाइ छ ।

“ढुक्क र निश्चिन्त हुनुस् । एकैदिनमा हुन्छ चुनाव । दुईचोटी हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ,” कार्कीले भनिन्, “मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । हामी सबैले मतदान गर्न पाउनुहुनेछ । निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गर्छौं र आफ्नो घर जान्छौँ ।”

उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयुक्तको भूमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद दिइन् ।