आचारसंहिता उल्लंघनका उजुरीमाथि अनुसन्धान भइरहेको छ : आयोग

आचारसंहिता उल्लंघनका उजुरीमाथि अनुसन्धान भइरहेको छ : आयोग



काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् ।

बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले यस्तो बताएका हुन् ।

उनले केही उमेदवारविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको बताए ।

उमेदवारहरूले स्पष्टीकरण बुझाउने कार्य जारी रहेको भन्दै उनले प्राप्त उजुरीको अध्ययनपछि आयोगले आवश्यक निर्णय लिने जानकारी दिए ।

“केही उमेदवारहरूविरुद्ध उजुरी पनि आएको छ । हामीले उहाँहरूलाई स्पष्टीकरण समेत सोधेका छौँ,” भण्डारीले भने, “केहीले स्पष्टीकरण पठाउनुभएको छ । र, केही आउने क्रममा छन् । स्पष्टीकरण आइसकेपछि त्यसको अध्ययनको आधारमा आवश्यक निर्णय गर्छौं ।”

अगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य जारी छ । हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाइ भई ५ हजार ८२५ बाकस प्याकिङ भइसकेको आयोगले जानकारी दिएको छ ।

जम्मा २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने बताइएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ कार्य सम्पन्न ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।