मुलुकमा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैन : गृहमन्त्री

मुलुकमा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैन : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा कुनै पनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य नहुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘क्लिकमाण्डु सिम्पोजियम’ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

गृहमन्त्री अर्यालले कुनै पनि व्यवसाय, उद्योग र लगानीको सुरक्षा गर्ने राज्यको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै त्यसलाई पूरा गरेरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले जेनजी आन्दोलनपछि निजी क्षेत्रले प्रतिकूल परिस्थितिमा पनि हौसलाका साथ काम गरेकाले मुलुकको अर्थतन्त्र पुनः गतिशील बन्दै गएको उल्लेख गरे ।

गृहमन्त्री अर्यालले निजी क्षेत्रसँग राज्यले विश्वासको पुल निर्माण नगरी मुलुकको आर्थिक अवस्थामा सुधार नआउने स्पष्ट पारे ।

“व्यवसाय, उद्योग र लगानीको सुरक्षा राज्यको प्राथमिक जिम्मेवारी हो । कुनै पनि नाममा हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैन । म विश्वास दिलाउन चाहन्छु– जेनजी आन्दोलनको अध्ययनको क्रममा उठाइएको निष्कर्षहरू सरकारको लागि आलोचना मात्रै होइन, सुधारको स्पष्ट रोडम्याप पनि हो । राज्य र निजी क्षेत्रबीच विश्वासको पुल पुनर्निर्माण नगरी आर्थिक पुनर्उत्थान सम्भव छैन,” उनले भने ।

गृहमन्त्री अर्यालले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने गरी सरकारले आवश्यक पहलकदमी लिइरहेको दाबी समेत गरे ।