चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम



चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला मतदाताको सङ्ख्या आधाभन्दा बढी छ ।

यहाँ उम्मेदवार हुने महिलाको सङ्ख्या भने निकै कम रहेको छ । पूर्बी चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिका समेटिएको यस क्षेत्रमा एक लाख ४९ हजार ६२१ मतदाता रहेका छन् ।

तीमध्ये ५० दशमलव ७० प्रतिशत अर्थात् ७५ हजार ८६० महिला मतदाता रहेका छन् । पुरुषको सङ्ख्या ७३ हजार ७६१ रहेको छ । यो ४९ दशमलव ३० प्रतिशत हो ।

महिला मतदाताको सङ्ख्या बढी भए पनि १८ जना प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवर भए पनि दुई जना मात्र महिला रहेका छन् । ती साना दलका हुन् ।

राष्ट्रिय जनमोर्चाले सीतादेवी क्षेत्री र नेश्नलरिपब्लिक नेपालले ईश्वरी गुरुङलाई उम्मेदवार बनाएको छ । यसअघि निर्वाचन जितेका ठूला दलले महिला उम्मेदवार दिन सकेका छैनन् ।

यस क्षेत्रबाट १५ राजनीतिक दलका उम्मेदवार छन् भने स्वतन्त्र तीन जना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यस क्षेत्रका मतदातामध्ये ५० प्रतिशत खश आर्य रहेका छन् ।

३३ दशमलव ३३ प्रतिशत आदिवासी जनजाति छन् भने निर्वाचन आयोगको तथ्याङ्कअनुसार थारु, दलित र मधेशी ५ दशमलव ५६ प्रतिशतका दरले रहेका छन् ।यस क्षेत्रमा ५६ वटा मतदानस्थलमा १६८ वटा मतदान केन्द्र रहेका छन् ।

यस क्षेत्रको राप्ती नगरपालिकाको केही भूभाग पहाडी क्षेत्रमा पर्दछ भने बाँकी समथर क्षेत्र पर्दछ ।