काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गरेका छन् ।
ओलीले आफ्नो क्षेत्रमा विश्वास गुमाएकाहरू नयाँ ठाउँ चहार्दै हिँडेको बताए ।
“अहिले म धेरै केही भन्न चाहन्नँ । हामीले थाहा पाउनुपर्छ आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन ? आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन । त्यहाँ ढाँट्न सकिँदैन । काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आँट गर्दैन फेरि लड्न ? किन यहाँ आउँछ ?” उनले प्रश्न गरे ।
आफूले काम गर्न नसकेपछि अरु नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको बताउँदै ओलीले झापाको गौरीगन्जसँगको सम्बन्ध ०२६ सालदेखि नै रहेको बताए ।
०२६ देखि ०२९ सालसम्म आफू त्यहीँको संगठनमा खटिएको र ०३० मा जेल परेपछि केही समय आउन नपाएको तर ०४७ देखि फेरि उक्त ठाउँसँगको यात्रा निरन्तर रहेको दाबी गरे ।
गौरीगन्ज क्षेत्रमा भएको कायापलटको चर्चा गर्दै विगतको गौरीगन्ज र वर्तमानको ‘सेल्फी रोड’ बनेको गौरीगन्जमा आकाश–जमिनको फरक रहेको उनको भनाइ थियो ।
विकासका पूर्वाधारबारे चर्चा गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग आफ्नै पहलका कारण सफल भएको पनि दाबी गरे ।
उनका अनुसार कन्काईको एउटा पुल बाहेक अधिकांश काम सम्पन्न भइसकेको र रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा रहेको छ ।
सामाजिक सुरक्षाका क्षेत्रमा आफ्नै नेतृत्वको सरकारले महत्त्वपूर्ण योगदान गरेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिक भत्ता चार हजार पुर्याएको दाबीसमेत गर्न भ्याए ।
यद्यपि, वर्तमान आर्थिक अवस्था र पटकपटकको सरकार परिवर्तनका कारण भत्ता बढाउन नसकिएकामा दुःख व्यक्त गरे ।
“हामीले ०५१/०५२ सालमा सुरु गरेका थियौँ । सामाजिक सुरक्षा भत्ता अघिल्लोपल्ट मैले चार हजार पुर्याएको थिएँ । अहिले विभिन्न ढंगले सरकार फेरिने र त्यसले अर्थतन्त्र अप्ठ्यारो स्थितिमा पारेको हुनाले त्यसलाई बढाउन सकिएको छैन,” उनले भने ।


प्रतिक्रिया