स्वर्गीय यादवप्रति कांग्रेस शीर्ष नेताहरूको श्रद्धाञ्जली

स्वर्गीय यादवप्रति कांग्रेस शीर्ष नेताहरूको श्रद्धाञ्जली



जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष एवं हंसपुर नगरपालिकाका प्रमुख स्वर्गीय प्रदीप कुमार यादवप्रति कांग्रेसका शीर्ष नेताहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

स्वर्गीय यादवको निजी निवास पुगेर कांग्रेस नेता विमलेन्द्र निधि, मधेस प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति कृष्ण प्रसाद यादव, नेता महेन्द्र यादव लगायतले उनीप्रति अन्तिम सम्मान प्रकट गरेका हुन्।

श्रद्धाञ्जलीका क्रममा नेताहरूले यादवको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।पार्टी र स्थानीय तहको विकासमा इमानदार, समर्पित र जनप्रिय नेतृत्वका रूपमा चिनिएका यादव मधेस प्रदेश नगरपालिका संघका अध्यक्ष समेत थिए।

उनको निधनले पार्टी र समग्र मधेसको राजनीतिमा अपूरणीय क्षति पुगेको नेताहरूले बताएका छन्।

यादवको योगदानको कदर गर्दै कांग्रेस मधेस प्रदेश कार्यसमितिले उनको सम्मानमा विभिन्न शोक कार्यक्रमहरू समेत सार्वजनिक गरेको छ।

मधेस प्रदेश कार्यसमितिको आकस्मिक बैठकले स्वर्गीय यादवप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौन धारणसहित शोक प्रस्ताव पारित गरेको हो।

बैठकको निर्णयअनुसार आज मधेस प्रदेशका आठै जिल्लाका पार्टी कार्यालयहरू शोकमा बन्द राखिनेछ।त्यस्तै, माघ २७ र २८ गते दुई दिन पार्टीको झण्डा आधा झुकाइने, सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राखिने र १३औँ दिनको पुण्यतिथिमा मधेस प्रदेश कार्यालयमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिनेछ।