निर्वाचन आयोगले सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

निर्वाचन आयोगले सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने



काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावलाई केन्द्रित गरी निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने मतप्रतिशत घटाउनका लागि आयोगले आउँदो फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सबै ७ सय ५३ वटै पालिकाको ६ हजार ७ सय ४३ वटा वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट चुनावको महत्त्व र मतदान प्रक्रियाकाबारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले मतदाता शिक्षा कार्यक्रममा आवश्यक सहयोगका लागि सातै प्रदेश सरकार, ७ सय ५३ वटै पालिका, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध पनि गरेको छ ।