५ वर्षमा १२ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आय पुर्‍याउने रास्वपाको लक्ष्य

५ वर्षमा १२ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आय पुर्‍याउने रास्वपाको लक्ष्य



विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पाँच वर्षका लागि आफ्नो स्पष्ट मार्गचित्रसहितको नागरिक करार सार्वजनिक गरेको छ ।

नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पार्टीले पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित यो विशेष अवधारणा अघि सारेको हो ।

रास्वपाले सदाचार, आर्थिक समृद्धि, रोजगारी, पूर्वाधार र प्रवास गरी मुख्य पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरू प्रस्तुत गरेको छ ।

पार्टीले सदाचार र असल शासनलाई पहिलो प्राथमिकतामा राख्दै भ्रष्टाचार विरोधी महाअभियानमार्फत पारदर्शी राज्य संयन्त्र निर्माण गर्ने सङ्कल्प गरेको छ ।

यस अन्तर्गत सरकारी सेवाहरूलाई पूर्ण रूपमा डिजिटल बनाउँदै सेवाग्राहीले भोग्नुपर्ने झन्झट अन्त्य गर्ने र वि.सं.२०४६ देखिकै उच्चपदस्थहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने योजना करारनामामा उल्लेख छ।

आर्थिक समृद्धितर्फ पार्टीले नेपालको प्रतिव्यक्ति आयलाई ३ हजार अमेरिकी डलर र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकारलाई १०० अर्ब डलर पुर्‍याउने लक्ष्य लिएको छ ।

युवा पलायनको समस्या समाधान गर्न रास्वपाले आगामी पाँच वर्षभित्र सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि र उद्योगका क्षेत्रमा १२ लाख नयाँ मर्यादित रोजगारी सिर्जना गर्ने योजना बनाएको छ ।

त्यस्तै, विदेशमा रहेका नेपालीहरूको योगदानलाई कदर गर्दै उनीहरूका लागि अनलाइन मताधिकार र वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्ने विषयलाई पार्टीले विशेष जोड दिएको छ ।