आज दिनभरीमा मतपत्र छापिसक्ने

आज दिनभरीमा मतपत्र छापिसक्ने



काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अब करिब ५ लाख मतपत्र छाप्न बाँकी रहेको र सो आज दिनभरमा छापिसक्नेछ ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी ५ लाख मतपत्र आजै साँझसम्म छपाइ सम्पन्न हुने जानकारी दिए ।

उनले भने, ‘प्रत्यतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फका २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको ५ लाख मतपत्र छपाइ आज दिनभरमा सक्दछौँ ।’

उनका अनुसार जनक शिक्षा सामग्रीले ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेको थियो । तोकिएको समय भन्दा दुई दिनअघि अर्थात् ४० दिनमै पूर्णरुपमा मतपत्र छपाइ सम्पन्न हुन लागेको हो ।

आज छपाइ सम्पन्न पछि भोलिसम्ममा सबै मतपत्र ‘प्याकिङ’ सकरे बाँकी जिल्लामा ढुवानी हुने उनले जानकारी दिए ।

दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै उनले केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको जानकारी दिए ।