समृद्धि र विकासका लागि फेरि नयाँ अभियान चलाउनुपर्छ : प्रचण्ड

समृद्धि र विकासका लागि फेरि नयाँ अभियान चलाउनुपर्छ : प्रचण्ड



रुकुम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्रोहको झन्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको बिगुल फुक्ने बताएका छन् ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ कोलमा आयोजित चुनावी कार्यक्रममा बोल्दै दलित समुदायको उल्लेख्य बसोबास रहेको सो क्षेत्रमा दलित र मगर समुदायको विकासका लागि विशेष कार्यक्रम ल्याउने बताए ।

प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बनेका प्रचण्डले दलित समुदायको विकासका लागि शक्तिशाली प्राधिकरण निर्माण गर्ने घोषणा गरे ।

उनले भने, ‘हामीले दलित समुदायमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नेछौँ । म प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेका थियौँ । सरकार ढलेपछि त्यो काम अगाडि बढेन । म यहाँको उम्मेदवार भएपछि दलित समुदायको विकासका लागि आफू पुरै शक्ति लगाउने प्रतिबद्धता जनाउँछु ।’

दलितहरूको बाहुल्य रहेका क्षेत्रहरूलाई संरक्षित क्षेत्र बनाएर सो समुदायलाई विशेष अधिकार दिन सकिने बताए । उनले रुकुम पूर्वलाई सडक सञ्जालले जोड्ने महत्त्वपूर्ण सडक योजनामा पनि प्रतिबद्धता व्यक्त गरे ।

उनले थपे, ‘हामी तकसेरा हुँदै शहीद मार्गबाट आएका छौँ । त्यसको स्तरोन्नति गर्ने । तकसेरा-सानीभेरी-उत्तरगंगा-ढोरपाटन-बेनी सडक खण्ड छिचोलेर आवतजावत सहज बनाउनेतिर मेरो ध्यान रहनेछ । निर्वाचित भएपछि सो सडकलाई बेनीसम्म छिचोल्ने र स्थानीयलाई सुविधा पुग्ने गरी काम गर्छु ।’