काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूलाई घेराबन्दी गरेर सखापै पार्न खोजिएको भएपनि नसकेको बताएका छन् ।
चितवन १ को चुनावी सभालाई सम्बोधन गर्दै मध्यरातमा बेडरुममा छिरेर अन्तिम इच्छा के हो ? भनेर सोधेको घटनाको स्मरण गरे ।
उनले भने, ‘हामीलाई त घेराबन्दी गरेका हुन् । उखेल्न खोजेका हुन्, लुछ्न खोजेका हुन्, मार्न खोजेका हुन् । मानसिक र भौतिक रूपमा सिद्ध्याउन खोजेका हुन्, सखाप गर्न खोजेका हुन् । मध्यरातमा बेडरुममा छिरेर ‘तेरो अन्तिम इच्छा के हो?’ भनेर सोधेका हुन् मलाई । त्यतिखेर मैले त जवाफ दिइनँ । मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते तपाईँले बोल्नु पर्ने छ ।’
उनले आफ्नो अन्तिम इच्छा देशको युग परिवर्तन गर्न सक्ने सक्षम जवाफ फागुन २१ को चुनावमा जनताले दिने विश्वास व्यक्त गरे ।
उनले भने, ‘अब क्रान्ति हुन्छ, २१ गते कुनै मतदान मात्र हुने वाला छैन । यो देशले वर्षौँदेखि देखेको सपनाको कुरा हामी गरिरहेका छौँ । यस पटक पूरा गर्नै पर्छ । राजनीतिको आडमा राज्यका संरचनाहरूलाई भर्ती केन्द्र गराएर, आ–आफ्नो ठाउँमा लगेर बजेटको गलत वितरण गरेर, ’मैले यति ल्याएँ र उति ल्याएँ’ भनेर देशका अन्य ठाउँलाई विभेद गरेको हिसाब यसपटक गर्नै पर्ने हुन्छ ।’
उनले आफूले प्रतिशोध नगर्ने भन्दै मध्यरातमा उठाएर लगेका हिसाब कानुनी रूपमा आफैँ लड्ने बताए ।
उनले थपे, ‘मलाई जिल्लै पिच्छे मुद्दा हालेका हिसाबहरू छन् । म माथि भएका अन्याय अत्याचारका हिसाबहरू छन् । त्यसको न्यायिक लडाइँ, कानुनी लडाइँ म लडुँला । तर ३४ वर्ष यिनीहरूले हाम्रो सपनामा डोजर चलाएका छन्, त्यसको हिसाब गर्नुपर्ने छ। त्यो हिसाब हामी लिन्छौँ ।’
उनले आफू देशका विभिन्न भूभागमा जाने भन्दै चितवनप्रति आफू पूर्ण विश्वस्त रहेको बताए ।


प्रतिक्रिया