काठमाडौं । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई धराशायी बनाउन सक्ने जोखिम भएको भन्दै यसतर्फ गम्भीर बन्न आग्रह गरेको छ ।
आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन आम सञ्चारलगायत सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा नराख्न र निर्वाचनलाई मर्यादित बनाउन आग्रह गरे ।
प्रविधिको तीव्र विकाससँगै एआईको प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भूमिका निर्वाह गरिदिन आयोगले विशेष आग्रह गर्दै आएको छ ।
प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न आयोगले ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने विषयमा हरेकले आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने आयोगको धारणा छ ।


प्रतिक्रिया