रुकुम–रोल्पालाई विकासको नमुना बनाउँछु : प्रचण्ड

रुकुम–रोल्पालाई विकासको नमुना बनाउँछु : प्रचण्ड



रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको आधारभूमिका रूपमा रहेको रुकुमपूर्वलाई अब विकासको नमुना जिल्ला बनाउने उद्घोष गरेका छन् ।

रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस क्षेत्रसँग आफ्नो दशकौँ पुरानो भावनात्मक सम्बन्ध रहेको स्मरण गरे ।

४१ वर्षअघि नै आफू यस क्षेत्रमा आएको चर्चा गर्दै प्रचण्डले रुकुम र रोल्पाकै जगमा जनयुद्धको नेतृत्व गरेको र अहिले यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए ।

खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उनले जनताको उत्साहलाई विजय उत्सवको संज्ञा दिए ।

प्रचण्डले वर्तमान निर्वाचनलाई सामान्य प्रक्रिया मात्र नभई राष्ट्रको भविष्य तय गर्ने विशिष्ट राजनीतिक प्रतिस्पर्धाको रूपमा व्याख्या गरे ।

चुनावमा तीन फरक प्रवृत्तिबिच लडाइँ भइरहेको दाबी गर्दै उनले हत्या, हिंसा र विध्वंस मच्चाउने शक्ति तथा सुशासन र गणतन्त्रको पक्षमा उभिएको शक्तिबिच जनताले फैसला गर्नुपर्ने उल्लेख गरे ।

गत भदौ २३ र २४ गतेका हिंसात्मक घटनातर्फ सङ्केत गर्दै उनले मान्छे मार्ने र आगजनी गर्ने प्रवृत्तिलाई हराएर भ्रष्टाचारविरुद्धको अभियानमा लागेको शक्तिलाई जिताउन आह्वान गरे ।

यो निर्वाचन देशलाई दुर्घटनाबाट जोगाउने कडी भएको उनको तर्क थियो ।