झापा । नेकपा (एमाले)का अध्यक्ष एवं झापा– ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओलीले काठमाडौंको टुँडिखेलमा अमेरिकी सेनाले परेड खेलेको विषयमा आपत्ति जनाएका छन् ।
उनले अमेरिकी सेनाको परेड सार्वभौम राष्ट्रमाथि विदेशी सेनाको नाङ्गो नाच भएको टिप्पणी गरेका छन् ।
सोमबार दमकस्थित निवासमा शिलापत्रसँग कुरा गर्दै अध्यक्ष ओलीले अमेरिकी सेनाको परेड नेपालको राष्ट्रियतामाथि गम्भीर हमला भएको आरोप लगाए ।
नेपाली सेना दिवस एवं महाशिवरात्रिको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतको उपस्थितिमा सेनाले आइतबार टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा अमेरीकी सेनाको एक टोलीले ब्यान्ड बाजासहितको प्रस्तुति गरेको थियो ।
सोही विषयप्रति संकेत गर्दै ओलीले नेपालको सांस्कृतिक मूल्यमान्यतामाथिको ठाडो हस्तक्षेपको सुरुवात गरिएको तर्क गरे ।
‘हाम्रा धेरै मित्र राष्ट्रहरू छन् । कुनै एउटा मात्र राष्ट्रको सेना किन ल्याइयो ? सार्वभौम राष्ट्रमा विदेशी सैन्य गतिविधि किन ?’ ओलीले प्रश्न गर्दै सरकारले यसको जवाफ दिनुपर्ने बताए ।
‘हाम्रा गौरवपूर्ण सांस्कृतिक महत्त्व झल्कने चाडपर्वहरू छन् । हजारौँ वर्ष लगाएर स्थापित मान्यता बोकेका त्यस्ता चाडपर्वहरूमा कसैले हस्तक्षेप गर्नु हुँदैन,’ ओलीले भने, ‘हाम्रा भाषा, बाजागाजा, नृत्य र रीतिरिवाजमाथि नराम्ररी हमला भएको छ । हामी सजक हुनुपर्ने बेला भएको छ ।’
ओलीले कुनै पनि देशको पक्षमा उभिने आफ्नो पार्टीको नीति नभएको भन्दै टुँडिखेलमा विदेशी सेनाको गतिविधि राष्ट्रिय स्वाधीनता र परराष्ट्र नीतिविपरीत भएको दाबी गरे ।


प्रतिक्रिया