काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्लाका सभापतिलाई स्पष्टीकरण सोधेको छ ।
दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को झन्डा जलाउँदै सो पार्टीका अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गर्दै नाराबाजी गरेको विषयमा स्पष्टीकरण सोधिएको हो । सो सम्बन्धमा आयोगमा सूचना/उजुरी प्राप्त भएकोले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
आयोगको स्पष्टीकरणपत्रमा रास्वपाका तर्फबाट आयोजित चुनावी कार्यक्रममा एमालेका अध्यक्षका विरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी भएको हो वा होइन ? भन्ने विषयमा पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ ।
आयोगले कुनै पनि दलको झन्डा जलाउने र अन्य दलका जो कोहीविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गर्ने कार्य निर्वाचन आचारसंहिता, २०८२ विपरीत रहेको पनि स्मरण गराएको छ ।


प्रतिक्रिया