धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, मृत्यु हुनेमा १ विदेशी पनि

धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, मृत्यु हुनेमा १ विदेशी पनि



काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

धादिङका एसपी सुमित खड्काले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरे । उनले दुर्घटनामा ४ महिला र १ विदेशीको पनि मृत्यु भएको बताए ।

बसमा ४६ यात्रु रहेको र उद्धार कार्य जारी रहेको बताइएको छ । घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ । सेना, सशस्त्र प्रहरी र प्रहरीको टोलीले उद्धार जारी राख्दा मृतक तथा घाइतेको परिचय खुल्न बाँकी छ ।

बस सडकबाट ३ सय मिटर तल खसेको पाइएको छ । आज बिहान करिब १ः३० बजे ग१ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।