स्थानीय तहका जनप्रतिनिधिलाई चुनाव प्रचारमा संलग्न नहुन आयोगको निर्देशन

स्थानीय तहका जनप्रतिनिधिलाई चुनाव प्रचारमा संलग्न नहुन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको छ ।

साथै निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालयबाट आवश्यक अनुगमन गर्नका लागि अनुरोध पनि गरेको छ ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय विदितै छ ।